दफा ५०
सोधपूछ र जिरह
(१) कुनै साक्षी बकाउँदा सो साक्षी जुन पक्षको हो, सोही पक्षले निजसँग सोधपूछ गर्न सक्नेछ । त्यसपछि अर्को पक्षले चाहेमा सो साक्षीसँग जिरह गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम अर्को पक्षले जिरह गरी सकेपछि जुन पक्षको साक्षी हो सोही पक्षले सो साक्षीसँग पुन सोधपूछ गर्न सक्नेछ ।
तर सो बमोजिम कुनै पक्षले आफ्नो साक्षीसँग पूनः सोधपूछ गर्दा आफ्नो विपक्षले गरेको जिरहसँग सम्वन्धित कुरामा मात्र सोधपूछ गर्न सक्नेछ ।
(३) उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशमा जुसुकै कुरा लेखिएको भए तापनि अदालतले अनुमति दिएमा कुनै पक्षले आफ्नो साक्षीसँग पूनः सोधपूछ गर्दा कुनै नयाँ कुराका सम्वन्धमा प्रश्न सोध्न सक्नेछ ।
तर सो बमोजिम कुनै नयाँ कुराका सम्वन्धमा प्रश्न सोधिएकोमा सो पक्षको विपक्षीले त्यस सम्वन्धमा सो साक्षीसँग फेरी जिरह गर्न सक्नेछ ।
(४) कुनै पक्षले आफ्नो साक्षीसँग सोधपूछ वा पुन सोधपूछ गर्दा आफूले इच्छा गरेको जवाफ सुझाउने सूचक प्रश्न विपक्षीले आपत्ति गरेमा सोध्न पाउने छैन ।
तर अदालतले अनुमति दिएमा त्यस्तो प्रश्न सोध्न हुन्छ ।
(५) उपदफा (४) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम अदालतले कुनै पक्षलाई आफ्नो साक्षीसँग कुनै सूचक प्रश्न सोध्ने अनुमति दिंदा अदालतको बिचारमा सो प्रश्न परिचायक, विवादरहित वा सो प्रश्नसँग सम्वन्धित कुरा पूर्णरूपमा प्रमाणित भै सकेको छ भन्ने लागेमा मात्र अनुमति दिनेछ ।
(५क) कुनै अभियुक्तले बयान गर्ने क्रममा कुनै अर्को अभियुक्तलाई पोल गरेमा त्यसरी पोल गरेको कुराको हदसम्म त्यस्तो सहअभियुक्तलाई जिरह गर्ने अवसर दिन सकिनेछ।
(५ख) उपदफा (५क) बमोजिमको पोल गर्ने सहअभियुक्त साधारण तारिख, धरौटी वा पुर्पक्षका लागि थुनामा रहेको भए मुद्दाको फैसला हुनुभन्दा अघि निजलाई उपस्थित हुने गरी तारिख तोकी सोही तारिखका दिन त्यसरी पोल गरिएको अभियुक्तलाई जिरह: गर्ने अवसर दिनु पर्नेछ। (६) सो पक्षले जुनसुकै कुरा लेखिएको भए तापनि साक्षी बकाउँदा सो साक्षी जुन पक्षको हो, सो पक्षले निजसँग सोधपूछ नगरी अदालतबाट सोधपूछ गरियोस् भनि लिखित दरखास्त दिएमा अदालतले नै सो साक्षीसँग सोध्नुपर्ने प्रश्न सोधी जवाफ लिनेछ र त्यसपछि अर्को पक्षले चाहेमा सो साक्षीसँग जिरह गर्न सक्नेछ ।
तर (क) यस उपदफा बमोजिम अदालतले कुनै साक्षीसँग सोधपूछ गरेकोमा जुन पक्षको साक्षी हो सो पक्षले सोधपूछ वा पुन सोधपूछ गर्न पाउने छैन ।
(ख) कुनै पक्षले आफ्नो साक्षीहरू मध्ये कुनैसँग खण्ड (क) बमोजिम आफैंले सोधपूछ गर्न र कुनैसँग यस खण्ड अनुसार अदालतबाटै सोधपूछ गरियोस्भनि दरखास्त दिन पाउने छैन ।